बैंककको बारमा आगलागी, २७ जनाको मृत्यु, ६० बढी घाइते


काठमाडौं – थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा लागेको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । ६० भन्दा बढी घाइते भएका छन् ।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलका अनुसार घटनास्थलबाट २७ जनाको शव निकालिएको छ भने घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये ९ जना पुरुष र १८ जना महिला छन् । साथै केही व्यक्ति बेपत्ता रहेको थाई सञ्चारमाध्यम थाइराथले जनाएको छ ।

सोमबार मध्यरातपछि आगलागी भएको जानकारी प्राप्त भएपछि दमकल टोली घटनास्थलमा पुगेको थियो । त्यतिबेला बारको मुख्य प्रवेशद्वारबाट मानिसहरू आगो र धुवाँबाट ज्यान जोगाउन भागिरहेका थिए ।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक भिडियोहरूमा बारबाट ठूलो आगोको मुस्लो निस्किरहेको, मानिसहरू चिच्याउँदै भागिरहेको, केही लडिरहेको तथा कम्तीमा दुई जना व्यक्तिको शरीरमा आगो सल्किएको देखिन्छ ।

प्रधानमन्त्रीले घटनास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया