सेनाको गस्तीमा जंगलबाट जुवा खेलाइरहेका १६ जना पक्राउ

बौद्ध क्षेत्रमा प्रहरी संरक्षणमा जुवा सञ्चालन भएको स्थानीयको आरोप


काठमाडौं – काठमाडौंको बौद्ध प्रहरी वृत्त अन्तर्गत पर्ने साँखु–थली क्षेत्रको जंगलमा सञ्चालन भइरहेको जुवा तथा ‘एघार गोटी’ खेलाइरहेको स्थानबाट नेपाली सेनाको गस्ती टोलीले करिब १६ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ।

सुरक्षा स्रोतका अनुसार गस्तीका क्रममा जंगल क्षेत्रमा ठूलो समूह जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। बरामद नगद रकम र पक्राउ परेकाहरूको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

स्थानीयवासीका अनुसार बौद्ध प्रहरी वृत्त अन्तर्गत साँखु र थली क्षेत्रमा लामो समयदेखि जुवा तथा ‘एघार गोटी’ खेलाउने समूह सक्रिय छन्। प्रहरीको निगरानी बढेपछि उनीहरूले होटल, घर तथा भाडाका कोठाबाट जंगलतर्फ गतिविधि सारेको स्थानीयको दाबी छ।

स्थानीयले केही प्रहरी कर्मचारी र सिभिल पोशाकमा खटिने सुरक्षाकर्मीको संरक्षणमा यस्ता अवैध गतिविधि सञ्चालन हुँदै आएको आरोप लगाएका छन्। यद्यपि, उक्त आरोपबारे सम्बन्धित प्रहरी निकायको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

नेपाली सेनाको टोलीबाट भएको यस कारबाहीले स्थानीयले लामो समयदेखि उठाउँदै आएको गुनासोप्रति थप प्रश्न खडा गरेको छ। घटनाबारे निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न स्थानीयवासीले माग गरेका छन्।

यस घटनासम्बन्धी भिडियो तथा तस्बिरसमेत सार्वजनिक भएका छन्। पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको स्रोतले जनाएको छ।

प्रतिक्रिया