काभ्रेमा टिपरमा च्यापिएर युवकको मृत्यु


काभ्रे – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका- १२ ज्याम्दीमा टिपरमा च्यापियर एक युवकको मृत्यु भएको छ ।

बालुवा लोड गर्ने क्रममा दुई टिपरको बीचमा च्यापियर पाँचखाल नगरपालिका-८ होक्से घर भई हाल पाँचखाल-४ तामाघाट बस्दै आएका १९ वर्षीय देवेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन बिष्टले जानकारी दिए ।

आइतबार राति करिब १० बजे मण्डनदेउपुर नगरपालिका-१२ ठुल्डीबेँशीस्थित वेतेनी बगरमा बा४ख ९८२५ नम्बरको टिपर बालुवा लोड गरी ब्याक गर्ने क्रममा अर्को रोकिराखिएको बा४ख ९९०९ नम्बरको टिपमा युवक च्यापिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीयले दुवै टिपरमा तोडफोड गर्दा झ्यालढोका तथा सिसामा क्षति पुगेको छ । दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनामा संलग्न बा४ख ९८२५ नम्बरको टिपरका चालक ललितपुरको गोदावरी नगरपालिका-६ निवासी ३९ वर्षीय दीपक सत्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया