मध्यरातमा धारिलो हतियार प्रहार गरी सर्लाहीमा पुरूषको हत्या


सर्लाही – सर्लाहीको बसबरिया गाउँपालिका-१ मानपुरमा शनिबार मध्यराति अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या गरेका छन् । मृत्यु हुनेमा स्थानीय भुइल रायका ५२ वर्षीय छोरा होशनारायण राय यादव छन्।

यादव आफ्ना १४ वर्षीय कान्छा छोरा राजकपुरसँग भैँसी गोठमा सुतिरहेको अवस्थामा शनिबार राति करिब १२ बजे अज्ञात व्यक्तिले घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए । आक्रमणपछि गम्भीर घाइते भएका यादव आफन्तलाई जानकारी दिन घरतर्फ गएका थिए।

घटनापछि परिवारका सदस्यले उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बरहथवाका डीएसपी गोपिकृष्ण सुवेदीका अनुसार यादवको शव हाल नगर अस्पताल बरहथवामा राखिएको छ । पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको छ।

मृतकका जेठा छोरा सुवास कुमार यादवले आफ्ना बुवा नरम र इमानदार स्वभावका रहेको र कसैसँग कुनै विवाद नभएको बताउँदै हत्याको कारण तथा संलग्न व्यक्तिबारे अनुमान गर्न समेत कठिन भएको बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको र हत्यामा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया