भारतमा रेलमा मास्क नलगाउनेलाई ५ सय जरिवाना


दिल्ली – कोरोना भाएरसको संक्रमण धूँवासरी फैलिएपछि भारतीय रेलवे विभागले रेलमा मास्क नलगाउने यात्रुलाई ५ सय जरिवाना तिराउने भएको छ। कोरोना भाइरसको संक्रमण उच्च विन्दूमा पुगेको बेला मास्कको प्रयोग घटेको भन्दै विभागले सचेत गराउन जरिवाना तिराउन लागेको हो।

विभागका अनुसार ११ मेमा जारी गरिएको स्ट्यान्डर्ड अपरेटिभ प्रोसिजर (एसओपी)मा सबै यात्रुलाई रेल भित्र प्रवेश गर्दा र यात्राको क्रममा अनुहार छोप्ने कभर वा मास्क प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ।

मास्क नलगाउनेलाई रेल ऐनअन्तर्गतको अपराधमा कारवाही गरिने विभागले जनाएको छ। ‘स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोक्नका लागि जारी गरेको विशेष निर्देशिकामा मास्क अनिवार्य लगाउनु भन्ने पनि समावेश छ। यसलाई उल्लंघन गरेमा ५ सयसम्म जरिवाना तिराउन सकिन्छ,’ विभागले भनेको छ।

यस्तै रेल परिसरमा थुक्नेलाई पनि जरिवाना तिराइने भएको छ।

भारतमा दैनिक २ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिन थालेका छन्। गत २४ घण्टाभित्र २ लाख ३३ हजार ९४३ जना संक्रमित थपिएका हुन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या एक करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ सय ३८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७५ हजार ६७३ पुगेको छ।

प्रतिक्रिया