भारतीय वायुसेनाको एएन–३२ विमान आसाममा दुर्घटनाग्रस्त


काठमाडौं- भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान शनिबार आसामस्थित जोरहाट वायुसेना स्टेशनमा दुर्घटनाग्रस्त भएको छ। विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार वायुसेनाका प्रवक्ता विंग कमाण्डर जयदीपले दुर्घटनाको पुष्टि गर्दै घटनाबारे थप विवरण सङ्कलन भइरहेको बताएका छन्।

दुर्घटनापछि भारतीय वायुसेनाले जारी गरेको वक्तव्यमा एएन–३२ विमान जोरहाटमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको उल्लेख गरिएको छ। साथै दुर्घटनाको कारण पत्ता लगाउन ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिएको जनाइएको छ।

प्रारम्भिक विवरणअनुसार विमान वायुसेना स्टेशन परिसरभित्र अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनापछि विमानमा आगलागीसमेत भएको बताइएको छ।

घटनालगत्तै उद्धार तथा आपत्कालीन टोलीहरू परिचालन गरिएको छ। वायुसेना स्टेशन परिसरमा उद्धार कार्य जारी रहे पनि दुर्घटनाको वास्तविक कारणबारे अहिलेसम्म स्पष्ट हुन सकेको छैन। त्यसैगरी, घटनामा मानवीय क्षति भएको वा नभएको विषयमा पनि आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

एएन–३२ दुई इन्जिनयुक्त टर्बोप्रप सैन्य परिवहन विमान हो। सोभियत संघकालीन एन्टोनोभ डिजाइन ब्यूरोद्वारा विकसित यो विमान भारतीय वायुसेनाको महत्वपूर्ण ढुवानी साधनका रूपमा प्रयोग हुँदै आएको छ। सैनिक तथा सामग्री ढुवानी, विपद् राहत सामग्री पुर्‍याउने कार्य तथा प्याराट्रूपरहरूलाई हवाईमार्गबाट खसाल्ने जिम्मेवारीमा एएन–३२ विमान प्रयोग गरिन्छ।

प्रतिक्रिया