भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार


काठमाडौं- राष्ट्रिय बाल अधिकार परिषद्ले भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा सञ्चालित ‘मुस्कान सेवा नेपाल’ नामक बाल गृहबाट ८ जना बालबालिकाको उद्धार गरेको छ। उद्धार गरिएका बालबालिकामध्ये २ जना बालक र ६ जना बालिका रहेका छन्।

परिषद्का अनुसार उक्त बाल गृहले बाल गृह सञ्चालन सम्बन्धी निर्धारित मापदण्डको पूर्ण पालना नगरेको पाइएको थियो। त्यहाँ आश्रित बालबालिकाको सुरक्षा र हितमा जोखिम देखिएपछि जेठ २८ गते उनीहरूको उद्धार गरिएको हो।

सूर्यविनायक नगरपालिका तथा बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा उद्धार गरिएका बालबालिकालाई सुरक्षित स्थानमा पुनःस्थापना गरिएको परिषद्ले जनाएको छ।

परिषद्का सूचना अधिकारी रामबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा बालबालिका सम्बन्धी ऐन, २०७५ तथा सम्बन्धित नियमावली र मापदण्ड पालना नगरी बाल गृह सञ्चालन गर्नु कानुनविपरीत हुने उल्लेख गरिएको छ। ऐनको दफा ६६(२) अनुसार कानुनविपरीत बाल गृहमा बालबालिका राख्ने कार्यलाई हिंसाको रूपमा परिभाषित गरिएको छ।

यस्तो कसुर गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना तथा एक वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।

प्रतिक्रिया