
अध्ययन भिसा प्रकरणमा कर्मचारीमाथि छानबिन गर्न समिति गठन
काठमाडौं- शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा पेस गरिएका नक्कली कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नताबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार सहसचिव चन्द्रकान्त भुसाल को संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्।
मन्त्रालयका अनुसार समितिलाई घटनासँग सम्बन्धित कर्मचारीहरूको भूमिका, जिम्मेवारी तथा सम्भावित संलग्नताबारे अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे पनि समितिले अध्ययन गर्नेछ।
वाल्मीकि विद्यापीठको नाममा अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली रहेको प्रारम्भिक रूपमा देखिएपछि मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।
यस घटनासँग सम्बन्धित सिफारिसका आधारमा भिसा प्रक्रिया अगाडि नबढाउन मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरिसकेको छ। साथै, अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि गृह मन्त्रालयलाई समेत पत्राचार गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको यस विषयलाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै अनुसन्धान प्रतिवेदनका आधारमा आवश्यक प्रशासनिक तथा कानुनी कारबाही अघि बढाइने स्पष्ट गरेको छ।



कागजपत्र |
