
हवाई उडान ढिलाइ हुँदा यात्रुलाई क्षतिपूर्ति दिनुपर्ने सांसद अवस्थीको माग
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आकृति अवस्थीले नेपालको आन्तरिक हवाई सेवामा देखिएको लापरवाहीका कारण यात्रुहरू गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले उडानहरू पटक–पटक ढिलो हुने वा रद्द हुने समस्या बढ्दै गएको बताइन्। एयरलाइन्स कम्पनीहरूले यात्रुलाई समयमै जानकारी नदिने र मनलाग्दी ढंगले ‘फ्लाइट डिले’ भएको सूचना दिने प्रवृत्तिका कारण यात्रुहरू विमानस्थलमा १५ मिनेटदेखि ६ घण्टासम्म अनावश्यक रूपमा बस्न बाध्य भएको उनको भनाइ थियो।
सांसद अवस्थीले विशेषगरी सुत्केरी महिला, बिरामी, अपाङ्गता भएका व्यक्ति, अत्यावश्यक काममा हिँडेका नागरिक तथा ज्येष्ठ नागरिकले यस्तो अवस्थाबाट बढी सास्ती बेहोर्नुपरेको उल्लेख गरिन्।
उनले उपभोक्ता संरक्षण ऐन, २०७५ ले प्रत्येक नागरिकलाई सही सूचना, गुणस्तरीय सेवा तथा आवश्यक परे क्षतिपूर्ति पाउने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै नेपालमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन्।
अवस्थीका अनुसार विश्वका धेरै मुलुकमा उडान लामो समयसम्म ढिलाइ हुँदा यात्रुका लागि खानपान, सञ्चार सुविधा तथा आवश्यक परे आवासको व्यवस्था समेत गरिन्छ। तर नेपालमा यस्ता व्यवस्था अझै प्रभावकारी रूपमा लागू हुन नसकेको उनको टिप्पणी थियो।
सांसद अवस्थीले उडान ढिलाइ वा रद्द हुँदा यात्रुलाई अनिवार्य रूपमा एसएमएस वा फोनमार्फत पूर्वसूचना दिने व्यवस्था गर्न, ढिलाइको स्पष्ट कारण सार्वजनिक गर्न तथा यात्रुले भोगेको असुविधाअनुसार उचित क्षतिपूर्तिको प्रणाली तत्काल लागू गर्न सरकारसँग माग गरिन्।
साथै उनले तोकिएको समयमा झन्झटरहित यात्रा गर्न पाउने आम उपभोक्ताको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकाय र हवाई सेवा प्रदायक कम्पनीहरूलाई जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराइन्। निर्धारित समयमै उडान सञ्चालन हुने वातावरण निर्माण गर्न पनि उनले सरकार तथा सरोकारवाला निकायसँग आग्रह गरिन्।



कागजपत्र |
