
कालीगण्डकी करिडोरमा क्रेन दुर्घटना, ६ जना घाइते
कावासोती – कालीगण्डकी करिडोर सडकखण्ड अन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–४ रानीतालमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु १ क ४४३७ नम्बरको क्रेन गएराति दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका घर भई हाल मध्यविन्दु नगरपालिका–११ बस्ने २५ वर्षीय निरज अस्रामी मगर, क्रेनमा सवार मध्यविन्दु–११ का ६० वर्षीय दिलबहादुर कुमाल, २७ वर्षीय निर्मल दराई, ५२ वर्षीय पूर्णप्रसाद दराई, ५३ वर्षीय अर्जुनबहादुर दराई र ५० वर्षीय अमर दराई रहेको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ ।
ओरालो बाटोमा सडकको बायाँ किनाराको भित्तामा क्रेन ठोक्किएको छ । ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
