
दल फेरेका एमालेका ८ वडाध्यक्ष पदमुक्त
काठमाडौं- निर्वाचन आयोगले नेकपा (एमाले) बाट निर्वाचित भई पछि दल परिवर्तन गरेका ८ जना वडाध्यक्षको पद रिक्त भएको घोषणा गरेको छ।
आयोगले बुधबार सूचना प्रकाशित गर्दै २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका ती जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य राजनीतिक दलमा आबद्ध भएको पुष्टि भएपछि उनीहरूको पद स्वतः रिक्त भएको जनाएको हो।
आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२(१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम एमालेले दल त्याग गरेको व्यहोरासहितको निर्णय निर्वाचन आयोगमा पठाएको थियो। सोही आधारमा आयोगले सम्बन्धित जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको हो।
कानुनी व्यवस्थाअनुसार कुनै राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा उसको पद स्वतः रिक्त हुने व्यवस्था छ। आयोगले यही प्रावधानअनुसार निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।
आयोगले पद रिक्त भएका वडाध्यक्षहरूको विवरणसमेत सार्वजनिक गरेको छ। दल परिवर्तनसँगै स्थानीय तहमा उनीहरूको निर्वाचित हैसियत समाप्त भएको आयोगको सूचनामा उल्लेख छ।




कागजपत्र |
