देशभरका यी मुख्य सडकको अवस्था यस्तो


काठमाडौं – देशका विभिन्न भागमा बाढी, पहिरो र सडक मर्मतका कारण मुख्य राजमार्ग तथा सडक खण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ।

सोमबार बिहान ६:३० बजेसम्मको अद्यावधिक विवरण अनुसार विशेष गरी काठमाडौँ उपत्यका, कोशी प्रदेश र बागमती प्रदेशका विभिन्न सडक खण्डमा लामो समयदेखि अवरोध सिर्जना भएको हो।

काठमाडौँ उपत्यकाअन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ स्थित देउराली देवीस्थानमा पहिरो खसेका कारण सतुङ्गल-चित्लाङ सडक खण्ड ‘पूर्ण रूपमा अवरोध’ भएको छ। गत जेठ १६ गतेदेखि बन्द भएको उक्त सडकमा मर्मत कार्य भइरहेकाले अझै एक महिनासम्मका लागि आवागमन बन्द हुने जनाइएको छ।

यसैगरी, सडक मर्मतकै कारण बागमती प्रदेशको मकवानपुर जिल्लास्थित कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौँ सडक खण्ड पनि एक महिनाका लागि बन्द गरिएको छ। इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ४ महालक्ष्मी क्षेत्रमा मर्मतको काम भइरहेकाले जेठ १५ गतेदेखि नै उक्त सडक ‘पूर्ण रूपमा अवरोध’ अवस्थामा रहेको छ।

त्यस्तै, बागमती प्रदेशकै काभ्रेपलाञ्चोक जिल्लामा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्ग सडक खण्डमा ‘सवारी साधन सञ्चालनमा रोक’ लगाइएको छ। खुर्कोट-नेपालथोक-कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनलाई लक्षित गर्दै गत जेठ २२ गतेदेखि यस खण्डमा यातायात सञ्चालन गर्न दिइएको छैन।

उता कोशी प्रदेशका दुई जिल्लामा मध्यपहाडी लोकमार्ग बाढीका कारण प्रभावित बनेको छ। पाँचथर जिल्लाको याङवरक गाउँपालिका-२ दोभानमा बाढीले क्षति पुर्‍याएपछि जेठ ८ गतेदेखि मध्यपहाडी लोकमार्ग ‘पूर्ण रूपमा अवरोध’ भएको छ।

यद्यपि, भोजपुर जिल्लाको भोजपुर नगरपालिका-५ बोखिममा गत वैशाख १२ गते आएको बाढीले सडक अवरुद्ध गरे पनि हाल उक्त खण्ड ‘एकतर्फी सुचारु’ भएको छ। सो स्थानमा यात्रुहरूको सहजताका लागि वैकल्पिक बाटोको समेत व्यवस्था रहेको अद्यावधिक विवरणमा उल्लेख छ।

715440745_1679686686411567_5842942521434430679_n (1)

 

प्रतिक्रिया