
सभामुख अर्यालले बोलाए प्रमुख सचेतकहरूको बैठक
काठमाडौं – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्।
प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको र नयाँ समिति गठन हुन नसकेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले यो बैठक आह्वान गरेका हुन्।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सोमबार बिहान साढे ९ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सभामुखले प्रमुख सचेतकहरूको बैठक बोलाएको जानकारी दिए। अहिलेसम्म प्रतिनिधि सभा नियमावली २०७९ अनुसार चलिरहेकोमा जेठ १७ गते विपक्षी दलहरूको बेल घेराउबिच सत्तारुढ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली २०८३ पारित भएको थियो। त्यसयता विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएका कारण नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन।
विपक्षी दलहरूले जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्दै दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र उनले सदनमा आएर माफी माग्नुपर्ने माग राख्दै आएका छन्। यही मागलाई लिएर विपक्षीले लगातार सदनमा अवरोध गर्दै आएका हुन्।
जेठ १९ गतेपछि प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेका लागि आह्वान भएको छ, जसको कार्यसूची तय गर्न र गतिरोध अन्त्य गर्न सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन्।



कागजपत्र |
