सुधन गुरुङको सम्पत्ति छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो


काठमाडौं-  तत्कालीन गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सम्पत्ति र सेयर लगानीको स्रोतबारे उठेका प्रश्नको छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष बुझाएको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर समितिका पदाधिकारीहरूले प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

छानबिन समिति सदस्य तथा सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले छानबिन प्रक्रिया पूरा गरी प्रतिवेदन बुझाइएको जानकारी दिए। उनका अनुसार प्रतिवेदन ४५ पृष्ठको रहेको छ र त्यसमा विभिन्न विषयमा सुझावहरू समावेश गरिएको छ।

मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।

समितिलाई गुरुङको सम्पत्ति तथा सेयर लगानीका सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूको सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारलाई सुझावसहित प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।

प्रतिक्रिया