
एसईईमा बरामद मोबाइल नष्ट गर्ने निर्देशन मन्त्रीले नै दिएकी थिइन्
सिरहा – माध्यमिक शिक्षा परीक्षा (एसईई)का क्रममा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका मोबाइल फोन तथा स्मार्टवाच नष्ट गर्ने निर्णय तत्कालीन शिक्षामन्त्रीको निर्देशनका आधारमा कार्यान्वयन गरिएको छ।
गत चैतमा सम्पन्न एसईई परीक्षाका क्रममा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट बरामद गरिएका ४९६ मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको हो। तीमध्ये सात वटा आइफोन र ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन रहेका थिए।
मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा ती उपकरण नष्ट गर्न निर्देशन दिएकी थिइन्। सोही निर्देशनअनुसार जिल्ला परीक्षा समन्वय समितिले उपसमिति गठन गरी बरामद सामग्री व्यवस्थापन र नष्ट गर्ने प्रक्रिया अघि बढाएको हो।
शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि सम्मिलित उपसमिति गठन गरिएको थियो।
उपसमिति संयोजक यादवका अनुसार बरामद गरिएका मोबाइल तथा स्मार्टवाचलाई जिल्ला प्रहरी कार्यालयमा २४ घण्टासम्म पानीमा राखेर प्रयोग गर्न नमिल्ने बनाइएको थियो, त्यसपछि पूर्ण रूपमा नष्ट गरिएको हो।
बरामद सामग्रीको अनुमानित मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ। केही अभिभावकले जरिवाना लिएर मोबाइल फिर्ता गर्न माग गरे पनि मन्त्रीको निर्देशनअनुसार परीक्षा अनुशासन कायम राख्न उपकरण नष्ट गर्ने निर्णय कार्यान्वयन गरिएको हो।
एसईई परीक्षामा जफत गरिएका मोबाइल ठूलो संख्यामा नष्ट गरिएको यो मधेस प्रदेशमै पहिलो घटना भएको सम्बन्धित निकायले जनाएको छ।



कागजपत्र |
