भन्सारमा विशेष सुविधा लिएको आरोप निराधार : साइमेक्सले सार्वजनिक गर्‍यो ‘बीवाइडी’ आयातको सम्पूर्ण विवरण


काठमाडौं – नेपालमा चिनियाँ विद्युतीय सवारी निर्माता बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पछिल्लो समय सार्वजनिक वृत्तमा उठाइएका आरोपहरूको खण्डन गर्दै आफ्नो सम्पूर्ण आयात प्रक्रिया कानुनसम्मत र पारदर्शी रहेको जनाएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि ठूलो संख्यामा विद्युतीय सवारी नेपाल भित्र्याइएको विषयलाई लिएर विभिन्न आशंका र टिप्पणीहरू सार्वजनिक भइरहेका बेला साइमेक्सले विस्तृत तथ्यांकसहित आफ्नो धारणा सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार मुस्ताङस्थित कोरला नाकाबाट मात्रै मे २२ देखि २७ सम्मको अवधिमा बीआइडीका अट्टो १ र अट्टो २ मोडेलका ६४९ वटा विद्युतीय सवारीसाधन नियमित भन्सार प्रक्रिया पूरा गरेर नेपाल भित्रिएका हुन्। त्यस्तै रसुवा भन्सारमार्फत अट्टो १, सिलायन, अट्टो २ र अट्टो ३ गरी थप ४७२ वटा सवारी आयात गरिएको कम्पनीले जनाएको छ।

यसरी दुई प्रमुख भन्सार नाकामार्फत कुल १ हजार १ सय २१ वटा विद्युतीय सवारी कानुनी प्रक्रिया पूरा गरी आयात भएको साइमेक्सको दाबी छ। यस्तै थप २२६ वटा सवारी चीनतर्फको भन्सार क्षेत्रमा पुगेको भए पनि हालसम्म नेपालतर्फको जाँचपास प्रक्रिया पूरा नभएको कम्पनीले स्पष्ट पारेको छ।

साइमेक्सले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकताप्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको दाबी गरेको छ। कम्पनीका अनुसार ग्राहकबाट पहिल्यै सुनिश्चित भइसकेका बुकिङ पूरा गर्न, बढ्दो माग सम्बोधन गर्न तथा उत्पादन र ढुवानी तालिकाअनुसार सवारी आयात गरिएको हो। कम्पनीले गरी कर परिवर्तनबाट जोगिन खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोपलाई पूर्णतः निराधार, असत्य र प्रतिष्ठामाथि आघात पुर्‍याउने प्रयासको संज्ञा दिएको छ।

साइमेक्सले बीवाइडीका सवारीसाधन आयातसम्बन्धी सम्पूर्ण कागजात, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी प्रमाण, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिका कागजात सम्बन्धित निकायलाई उपलब्ध गराउन तयार रहेको जनाएको छ। साथै कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने कम्पनीको भनाइ छ।

पछिल्लो समय विद्युतीय सवारी बजारमा बीवाइडीको बढ्दो प्रभाव र उच्च मागबीच कम्पनीमाथि विभिन्न आरोपहरू सार्वजनिक भइरहेका छन्। तर साइमेक्सले सार्वजनिक गरेको विवरणले हालसम्म उठाइएका आरोपहरू तथ्यभन्दा बढी आशंका र अनुमानमा आधारित रहेको संकेत गरेको छ।

कम्पनीले अप्रमाणित सूचना र अफवाहको आधारमा समाचार तथा टिप्पणीहरू प्रसारण नगर्न सञ्चारमाध्यम र सरोकारवालासँग आग्रह गर्दै नेपालको स्वच्छ ऊर्जा र विद्युतीय सवारी रूपान्तरण अभियानमा आफू प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया