लाम्पाटा सीमा विवाद छानबिन गर्न गृह मन्त्रालयको टोली हुम्ला पुग्यो


सिमकोटहुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा देखिएको सीमा विवाद तथा त्यसक्रममा भएको झडपबारे अध्ययन गर्न गृह मन्त्रालयले गठन गरेको जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेलको नेतृत्वमा रहेको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए।

उनका अनुसार टोलीले विवाद भएको लाम्पाटा र च्याचौर क्षेत्रको स्थलगत अवलोकन गरी घटनाको यथार्थ अवस्था बुझिसकेको छ। त्यसपछि टोली सिमकोट पुगेको हो।

सिमकोट बसाइँका क्रममा समितिले सीमा क्षेत्रका स्थानीय बासिन्दा, घटनामा संलग्न पक्ष, सीमा जोडिएका वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा नागरिक अगुवासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ। समितिले घटनाको कारण, अवस्था र समाधानका उपायबारे जानकारी सङ्कलन गर्ने जनाएको छ।

गत जेठ २ देखि ४ गतेसम्म सीमा निर्धारणको विषयलाई लिएर हुम्ला र बाजुराका स्थानीयबीच विवाद चर्किएर झडप भएको थियो। घटनाले उग्र रूप लिएपछि गृह मन्त्रालयले त्यसको छानबिनका लागि समिति गठन गरेको थियो।

विवादको मूल कारण सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरी उक्त क्षेत्रमा प्रहरी चौकी निर्माणको काम सुरु गर्नु रहेको बताइएको छ। सीमा क्षेत्रको स्वामित्वलाई लिएर उत्पन्न विवादका कारण लाम्पाटामा दुई जिल्लाका स्थानीयबीच भएको झडपमा बाजुराका चार जना घाइते भएका थिए। घाइतेहरूको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि पठाइएको थियो।

सीमा विवाद समाधान तथा तथ्य अध्ययनका लागि सरकारले जेठ ११ गते नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा एउटा अध्ययन टोली र नेपाल प्रहरीका एसएसपी विमलराज पौडेलको संयोजकत्वमा अर्को जाँचबुझ समिति गठन गरेको थियो। हाल दुवै टोलीले आ–आफ्नो जिम्मेवारीअनुसार अध्ययन तथा छानबिन प्रक्रिया अघि बढाइरहेका छन्।

प्रतिक्रिया