
बिजुली उपभोगमा लगाइएकाे थोरै कर पूर्वाधारमा लगानीका लागि हाे : अर्थमन्त्री वाग्ले
काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् पूर्वाधार विकासका लागि आवश्यक लगानी जुटाउन बिजुलीको उपभोगमा थोरै मात्र कर लगाइएको बताएका छन्।
आइतबार पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै उनले सरकारले लगाएको करले उपभोक्ताको विद्युत् बिलमा न्यून मात्र असर पर्ने दाबी गरे।
उनका अनुसार २० देखि ३० युनिटसम्मको बिजुली निःशुल्क रहेको छ भने ५० युनिटसम्म कुनै कर नलाग्ने व्यवस्था गरिएको छ।
“५० युनिटसम्म कर लाग्दैन। ५१ देखि १५० युनिटसम्म कर लाग्ने व्यवस्था छ। हाम्रो करको दायरामा पर्ने करिब १२ लाख घरधुरी छन्, जसले सामान्य रूपमा पानी तान्ने पम्प, सामान्य विद्युतीय उपकरण र खाना पकाउन बिजुली प्रयोग गर्छन्,” अर्थमन्त्री वाग्लेले भने।
उनले १५० युनिटसम्म खपत गर्ने उपभोक्ताको बिलमा ५ प्रतिशत भ्याटका कारण औसतमा करिब २४ रुपैयाँ मात्र वृद्धि हुने उल्लेख गरे।
त्यस्तै, १५१ देखि २५० युनिटसम्म खपत गर्ने करिब २ लाख घरधुरीलाई २५ देखि १०० रुपैयाँसम्मको असर पर्ने उनले बताए।
अर्थमन्त्री वाग्लेले ५० युनिटसम्म निःशुल्क व्यवस्था भएकाले अधिकांश उपभोक्तामा करको भार न्यून रहने दाबी गर्दै आगामी दिनमा भ्याट बापतको रकम मूल्य संरचनामा समायोजन हुन सक्ने संकेत पनि गरेका छन्।



कागजपत्र |
