
विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग
काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले प्राकृतिक विपद् र जंगली जनावरको आतंकबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरूले विपद् जोखिम न्यूनीकरण, राहत वितरण तथा मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि विशेष योजना ल्याउन सरकारसँग माग गरेका हुन्।
नेपाली कांग्रेसका सांसद जनकराज गिरीले जेठ १४ गते बाजुराको बूढीनन्दा नगरपालिका–१ का पार्तोला, मटेलालगायत बस्तीमा बाढीका कारण करिब ३०० रोपनी जमिन बगरमा परिणत भएको र करिब ५० घरमा बाढी पसेपछि सयौँ नागरिक खुला आकाशमुनि बस्न बाध्य भएको जानकारी दिए। उनले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रेमबहादुर बयकले सोही दिन आएको तीव्र हुरीका कारण कैलालीको लम्कीचुहा नगरपालिकामा २५, जानकी गाउँपालिकामा ६ र बर्दगोरिया गाउँपालिकामा ५३ गरी ८४ घर तथा टिकापुरमा एक विद्यालयको छाना उडेको जानकारी दिँदै विपद्पीडितलाई तत्काल राहत दिन आग्रह गरे।
नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले दैलेखको भैरवी गाउँपालिकामा जंगली बँदेलको आतंक बढेको उल्लेख गर्दै नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरे।
यस्तै, नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले मेची राजमार्गको दायाँबायाँ १५/१५ मिटर क्षेत्र खाली गराउने विषयमा संघीय सडक सुपरिवेक्षण तथा डिभिजन कार्यालय इलामले जारी गरेको सूचनाप्रति आपत्ति जनाउँदै त्यसले १५ लाखभन्दा बढी नागरिकलाई त्रासमा पारेको बताए। उनले सो नीतिमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरे।
सांसदहरूले विपद् व्यवस्थापन, जनजीवन सुरक्षा र विकास नीतिहरूमा नागरिकमैत्री दृष्टिकोण अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।



कागजपत्र |
