फेसबुकमा भावुक भिडियो पोस्ट गरेपछि सम्पर्कविहीन बनेकी शोभा पाठक उद्धार


काठमाडौं-  सामाजिक सञ्जाल फेसबुकमा भावुक भिडियो सार्वजनिक गरेपछि सम्पर्कविहीन बनेकी शोभा पाठकलाई प्रहरीले उद्धार गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकलाई आइतबार बिहान काठमाडौंको वनस्थली क्षेत्रबाट सकुशल फेला पारिएको हो। शनिबार राति उनले फेसबुकमा भावुक गीतको पृष्ठभूमिमा रुँदै गरेको भिडियो पोस्ट गरेपछि उनको अवस्थालाई लिएर सामाजिक सञ्जालमा व्यापक चासो र चिन्ता व्यक्त गरिएको थियो।

परिसरका एसपी पवन भट्टराईले प्रहरी टोलीले आइतबार बिहान करिब ९ः१५ बजे पाठकलाई फेला पारेर उद्धार गरेको जानकारी दिए। उद्धारपछि उनको स्वास्थ्य अवस्था मूल्यांकन तथा मनोसामाजिक परामर्शका लागि मनमोहन अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप जानकारी संकलन गर्ने तथा आवश्यक परामर्श उपलब्ध गराउने प्रक्रिया जारी छ। साथै, उनका परिवारका सदस्यलाई पनि सम्पर्कमा बोलाइएको छ।

पाठकले पछिल्लो समय पूर्वमन्त्री महेश बस्नेतलाई कानुनी दायरामा ल्याउनुपर्ने माग सार्वजनिक रूपमा उठाउँदै आएकी थिइन्।

शनिबार राति उनले फेसबुकमा पोस्ट गरेको भिडियोमा ‘ए साथी सम्झनामा आऊ है, तिम्रो लागि संसारै रोयो तर तिमी नरोई नरोई जाऊ है’ बोलको गीत बजिरहेको थियो। उक्त भिडियोमा उनी भावुक अवस्थामा देखिएकी थिइन्, जसपछि उनको सुरक्षाबारे व्यापक चासो व्यक्त गरिएको थियो।

प्रतिक्रिया