
भारतसँग पराजित हुँदै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपमा पदकविहीन
काठमाडौं — काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली नेपाल पदकविहीन बनेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार भएको तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा भारतसँग ३–१ सेटले पराजित भएपछि नेपाल चौथो स्थानमा सीमित भएको हो।
भारतले नेपाललाई २५–२२, २५–२३, १५–२५ र २५–२२ ले पराजित गर्दै कास्य पदक जित्यो। पहिलो, दोस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै भारतले प्रतियोगिताको तेस्रो स्थान सुरक्षित गरेको हो।
खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक रह्यो। ९–९ र १२–१२ को बराबरीपछि नेपालले १५–१३ को अग्रता बनाएको थियो। तर भारतले पुनरागमन गर्दै खेललाई १७–१७ को अवस्थामा पुर्यायो। १८–१८ को बराबरीपछि भारतले लगातार अंक जोड्दै २१–१८ को अग्रता बनाएको थियो। नेपालले टाइमआउटपछि उत्कृष्ट पुनरागमन गर्दै २२–२२ को बराबरी गरे पनि अन्तिम समयमा अंक जोड्न नसक्दा पहिलो सेट २५–२२ ले गुमायो।
दोस्रो सेटमा भारतले ३–१ को अग्रतासहित सुरुआत गरेको थियो। नेपालले पुनरागमन गर्दै ९–९ को बराबरी कायम गर्यो। ११–११ को अवस्थापछि नेपालले १२–११ को अग्रता बनाएको थियो। त्यसपछि पनि नेपालले १७ अंकसम्म एक अंकको अग्रता कायम राखे पनि सेटको अन्तिम समयमा भारत हाबी बन्दै २५–२३ ले सेट आफ्नो पक्षमा पार्न सफल भयो।
तेस्रो सेटमा भने नेपालले उत्कृष्ट प्रदर्शन गर्यो। सुरुआतदेखि नै अग्रता लिएको नेपालले १५–७ र १९–९ को अवस्थामा खेललाई पुर्याउँदै २५–१५ को सहज जित निकाल्यो र खेललाई २–१ को अवस्थामा ल्यायो।
तर चौथो सेटमा भारतले पुनः लय समात्यो। तेस्रो सेटमा प्रभावशाली प्रदर्शन गरेको नेपाल चौथो सेटमा भने भारतलाई रोक्न असफल रह्यो। प्रतिस्पर्धात्मक बनेको सेट भारतले २५–२२ ले आफ्नो पक्षमा पार्दै खेल ३–१ ले जित्यो र कास्य पदक कब्जा गर्यो।
यससँगै घरेलु समर्थकमाझ खेलिरहेको नेपाल पदक जित्ने लक्ष्य पूरा गर्न असफल रहँदै प्रतियोगितामा चौथो स्थानमा सीमित भएको छ।
यता, प्रतियोगिताको उपाधिका लागि इरान र काजकिस्तानबीच फाइनल खेल अपराह्न ४ः३० बजे हुने तालिका रहेको छ।



कागजपत्र |
