
उपत्यकालगायतका क्षेत्रमा गएरातिदेखि नै वर्षा, आज केही स्थानमा भारी वर्षाकाे सम्भावना
काठमाडौं – देशका धेरै स्थानमा आज वर्षाको सम्भावना छ । गएरातिदेखि नै केही स्थानमा वर्षा भइरहेको छ ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण धेरै स्थानमा आजबाट वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस, कोसी र वाग्मती प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । केही दिनदेखि उच्च गर्मी भएका स्थानमा पनि आज वर्षाको सम्भावना छ ।
विभागले राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, वाग्मती, गण्डकी र कोसी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
देशका तराई र पहाडी भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
जलवायुविज्ञ धर्मराज उप्रेतीले पश्चिम तराईको अत्यधिक गर्मीको अवस्था बिहीबार रातिदेखि नै कमी आएको बताएका छन् । अबको तीन/चार दिन शीतल महसुस हुने सम्भावना रहेको उनको भनाइ छ ।
“आज बिहानैदेखि पश्चिम नेपालका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा, असिना, हावाहुरीको सम्भावना छ,” उनी फेसुबकमा लेख्छन्, “जेठ १८ गते (सोमबार)सम्म यो प्रणालीको प्रभाव रहनेछ । यो प्रणालीको प्रभाव गण्डकी, कोसी र मधेसमा पनि देखिनेछ । केही दिन देशभर शीतल हुनेछ ।”



कागजपत्र |
