
इन्डोनेसियालाई हराएर नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौं – एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इन्डोनेसियामाथि ४ विकेटको शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । यससँगै नेपाल समूह ‘बी’ को विजेताका रूपमा अन्तिम चारमा पुगेको हो ।
मलेसियाको वायुमास ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो ।
११४ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जितमा कप्तान इन्दु बर्माले अविजित ४२ रनको महत्वपूर्ण पारी खेलिन् । उनले ४३ बलमा ५ चौका प्रहार गरिन् ।
नेपालको मध्यक्रम सम्हाल्ने क्रममा इन्दुले चौथो विकेटका लागि सोनी पाख्रिनसँग ४५ रनको साझेदारी गरिन् । त्यसपछि पाँचौं विकेटका लागि कविता कुँवरसँग ३४ रनको उपयोगी साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याइन् ।
सोनी पाख्रिनले २९ रन बनाउँदा कविता कुँवरले १४ रन जोडिन् । सीता राना मगर १३ रनमा अविजित रहिन् ।
इन्डोनेसियाका लागि बलिङतर्फ नि मेड पुत्री सुवान्डेवी र नि एरिआनीले समान २–२ विकेट लिए । दारा पारामिथा र साङ मेप्रियानीले १–१ विकेट हात पारे ।
त्यसअघि इन्डोनेसियाका कप्तान नि पुतु आयु नान्दा साकारिनीले सर्वाधिक अविजित ५६ रन बनाइन् । उनले ६२ बल खेल्दै ३ चौका प्रहार गरिन् । नि लु देवीले २३ तथा नि मेड पुत्री सुवान्डेवीले १३ रनको योगदान दिए ।
नेपालका लागि मनिषा उपाध्यायले २ विकेट लिँदा रिया शर्माले १ विकेट हात पारिन् ।
नेपालले यसअघि समूह चरणको पहिलो खेलमा चीनलाई १९ रनले हराएको थियो । अब नेपालले सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले सेमिफाइनल जिते एसियन गेम्समा सिधै छनोट हुनेछ । यदि पराजित भए पनि तेस्रो स्थानका लागि हुने खेल जितेर एसियन गेम्समा स्थान बनाउन सक्नेछ । प्रतियोगिताका शीर्ष तीन टोलीले एसियन गेम्स खेल्न पाउनेछन् ।



कागजपत्र |
