मोटरसाइकल दुर्घटना हुँदा सेनाका सिपाहीको मृत्यु, ३ जना घाइते


कावासोती – नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ घर भई हाल नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा चितवनमा कार्यरत सिपाही २६ वर्षीय दिनेश गिरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तपूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लुप्र ०१–०११ प ९९९१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

ठक्करपछि सडकमा पल्टिएको बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकलका चालक नेपाली सेनाका सिपाही दिनेश गिरीलाई पछाडिबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको  प्रहरी उपरीक्षक खड्काले बताए ।

दुर्घटनामा गम्भीर चोट लागेका गिरीलाई उपचारका लागि देवचुली नगर अस्पताल दुम्कौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा लुप्र ०१–०११ प ९९९१ नम्बरको मोटरसाइकलका चालक रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ का ३४ वर्षीय रोहन पन्थी, सोही मोटरसाइकलमा पछाडि सवार रूपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का २५ वर्षीय अमृत आचार्य र बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकलमा पछाडि सवार रामेछापको मन्थली नगरपालिका–७ का २६ वर्षीय डम्बरबहादुर माझी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते माझी पनि नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा चितवनमा कार्यरत सिपाही रहेको खुलेको छ ।

प्रतिक्रिया