संसद्को नयाँ भवन फिल्म हलजस्तो देखियोः एमाले सांसद महर


काठमाडौं – नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले संसद्को नयाँ भवन फिल्म हलजस्तो देखिएको टिप्पणी गरेका छन् । बुधबार (जेठ १३) प्रतिनिधिसभा बैठकमा उनले त्यहाँको टेबल कक्षाकोठाको जस्तो भएको टिप्पणी गरे ।

‘त्यो प्रतिनिधिसभाको हल हो । त्यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन् । त्यसका सिट फिल्म हलको जस्तो बनाइएको छ,’ उनले भने, ‘टेबल कक्षाकोठाका जस्ता बनाइएका छन् । त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ ।’

धेरै लगानी र समय लगाएर बनाइएको भवनको सही ढंगले व्यवस्थापन गरिनुपर्नेमा उनले जोड दिए । ‘धेरै ठूलो लगानी र समय लगाएर बनाइएको भवन, दीर्घकालीन महत्त्वको भवनलाई सही ढंगले व्यवस्थापन सञ्चलान गर्नु वाञ्छनीय हुन्छ । तर, हतार-हतारमा गर्ने कार्यले क्षति हुन्छ कि,’ सांसद महरले भने ।

त्यसलाई उनले प्रतिनिधिसभाको हलजस्तो बनाउन पनि आग्रह गरे । आउँदो आर्थिक वर्षको बजेट निर्माणधीन उक्त भवनको हलबाटै प्रस्तुत गर्ने तयारी छ ।

प्रतिक्रिया