
बाजुरा–हुम्ला सीमा विवाद : कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द
बाजुरा – हिमाली गाउँपालिकामा भएको लुटपाट, तोडफोड र कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको आरोप लगाउँदै हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरेको छ । क्लबले आइतबारदेखि आन्दोलनस्वरूप कोरिडोर बन्द गरेको जनाएको हो ।
क्लबका अनुसार जेठ ८ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा राजनीतिक दलबीच २४ घण्टाभित्र समस्या समाधान गर्ने सहमति भएको थियो । तर, उक्त सहमति कार्यान्वयन नभई उल्टै स्थानीयका घरमा थप लुटपाट र तोडफोडका घटना बढेपछि बाध्य भएर सडक बन्द गर्नुपरेको क्लबले जनाएको छ ।
हिमाली गाउँपालिका–३ लाम्पाटामा स्थानीयका घरमा लुटपाट र तोडफोड हुनुका साथै स्थानीय बासिन्दामाथि कुटपिट गरिएको क्लबको आरोप छ । घटनामा हुम्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाका केही व्यक्तिहरू संलग्न रहेको दाबी गरिएको छ ।
क्लबले ती व्यक्तिहरूले स्थानीय बासिन्दासँगै भ्रमणमा आएका पर्यटकहरूको समेत व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटपाट गरेको आरोप लगाएको छ ।
हिमाली युवा क्लबले घटनास्थल लाम्पाटामा स्थलगत अनुगमन गरी तत्काल सर्जमिन मुचुल्का तयार गर्न माग गरेको छ । साथै, घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई लुटिएको धनमालको क्षतिपूर्ति पीडितलाई उपलब्ध गराउनुपर्ने मागसमेत गरिएको छ ।
कुटपिटबाट घाइते भएका स्थानीयको उपचार खर्च पीडक पक्षले व्यहोर्नुपर्ने, लाम्पाटा–च्याचौर क्षेत्रका विस्थापित परिवारलाई पुनर्स्थापना गरी सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने तथा निर्माणाधीन प्रहरी चौकी भवनमा भएको क्षतिको क्षतिपूर्ति भराई निर्माण कार्य तत्काल अघि बढाउनुपर्ने क्लबको माग छ ।
माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी हिमाली युवा क्लबले दिएको छ ।




कागजपत्र |
