ह्वाइट हाउसबाहिर गोलीकाण्डमा मारिएका युवकको पहिचान खुल्यो


काठमाडौं- अमेरिकाको वासिङ्टनस्थित ह्वाइट हाउसबाहिर भएको गोलीकाण्डमा मारिएका व्यक्तिको पहिचान खुलेको छ । घटनामा २१ वर्षीय नासिर बेस्ट मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले नासिर बेस्ट नै गोलीकाण्डमा मारिएका व्यक्ति भएको जनाएको हो ।

रिपोर्टअनुसार बेस्टले यसअघि पनि अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा प्रवेश गर्ने प्रयास गरेका थिए । सन् २०२५ मा ह्वाइट हाउसभित्र पस्न खोज्दा उनलाई अमेरिकी सिक्रेट सर्भिसले पक्राउ गरेको थियो ।

त्यसपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि उनलाई उपचारका लागि मानसिक अस्पताल पठाइएको बताइएको छ ।

सिक्रेट सर्भिसका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ७ बजे १७ औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिक बेस्टले झोलाबाट हतियार निकालेर अन्धाधुन्ध गोली चलाउन थालेका थिए ।

जवाफमा सुरक्षाकर्मीले गोली चलाउँदा उनी घाइते भएका थिए । उनलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

गोलीबारी भएको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेका थिए । तर घटनाले उनको सुरक्षामा कुनै असर नपरेको अधिकारीहरूले बताएका छन् ।

घटना हुँदा त्यहाँ ठूलो संख्यामा पत्रकारहरू पनि उपस्थित रहेको जनाइएको छ । सञ्चारमाध्यमहरूका अनुसार घटनास्थलमा १५ देखि ३० राउन्डसम्म गोली चलेको थियो ।

घटनाबारे राष्ट्रपति ट्रम्पले हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

यसअघि एक महिनाअघि ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका क्रममा पनि गोली चलेको थियो । त्यसबेला भने गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया