यार्सागुम्बा टिप्न गएका गोरखाका युवकको भिरबाट लडेर मृत्यु


गोरखा- यार्सागुम्बा सङ्कलन गर्न हिमाली क्षेत्रमा गएका गोरखाका एक युवाको भिरबाट लडेर मृत्यु भएको छ।

चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको बुद्ध हिमाल क्षेत्रमा यार्सागुम्बा सङ्कलन गरेर फर्किने क्रममा लडेर ज्यान गएको हो।

वडासदस्य विकास गुरुङका अनुसार प्रकाश आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका थिए। फर्किने क्रममा उनी समूहभन्दा अगाडि हिँडिरहेका थिए। साँझ बास बस्ने स्थानमा नपुगेपछि परिवारका सदस्य र साथीहरूले खोजी सुरु गरेका थिए।

खोजतलासका क्रममा बुधबार राति उनको शव ग्ल्यासियर क्षेत्रमा फेला परेको वडासदस्य गुरुङले बताए।

प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ समुदायको परम्पराअनुसार अन्त्येष्टि गरिएको जनाइएको छ।

प्रतिक्रिया