
मलेशियाविरूद्ध नेपाल विजयी
काठमाडौं – मलेसिया महिला राष्ट्रिय टोलीमाथि नेपालले अर्को जित हासिल गरेको छ ।
बुधबार भएको पहिलो ट्वान्टी २० अन्तर्राष्ट्रियमा संघर्षपुर्ण जित हासिल गरेको नेपालले दोस्रो खेलमा ७ विकेटको फराकिलो जित हात पारेको हो । जितसँगै नेपालले मलेसियासँगको शृङ्खला २-० ले जितेको हो ।
मलेसियाले दिएको ८३ रनको सामान्य लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सम्झना खड्का ३७ बलमा ३९ रन बनाउँदै अविजित रहिन् । कविता कुवँर २० बलमा १९ रनमा अविजित रहेको इनिङ्समा सोनी पाख्रिन १२ रनमा आउट भइन् ।
मलेसियाका लागि नुर धानीया र एइसा एलिसाले समान १ विकेट हात पारिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रनको योगफल तयार गरेको थियो ।
मलेसियाका लागि ऐना हमिजाले ३० बलमा सर्वाधिक १७ रन बनाइन् । धनुश्री श्री २० बलमा १५ रनमा आउट हुँदा अरिनान नातास्या १३ रनमा अविजित रहिन् । नेपालका लागि कविता कुवँर, रुबिना क्षेत्री र रिया शर्माले समान २ तथा पूजा महतो र सिता राना मगरले समान १ विकेट लिइन् ।
अर्को साताबाट सुरु हुने एसियन गेम्स छनोट तथा अर्को महिनाबाट हुने एसिसी प्रिमियर कप खेल्नका लागि नेपाली टोली हाल मलेसियामा रहेको छ ।



कागजपत्र |
