
‘धुरन्धर २’ विवादमा, गोप्य सैन्य सूचना देखाइएको आरोप
काठमाडौं- भारतीय अभिनेता रणवीर सिंह अभिनीत चलचित्र ‘धुरन्धर २’ कानुनी विवादमा परेको छ । दिल्ली उच्च अदालतले बुधबार केन्द्र सरकार र सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी) लाई चलचित्रविरुद्ध दर्ता गरिएको रिटमाथि अनुसन्धान गर्न निर्देशन दिएको हो ।
सशस्त्र सीमा बल (एसएसबी) का एक जवानले चलचित्रमा सेनाको अपरेसनसँग सम्बन्धित गोप्य सूचनाहरू देखाइएको आरोप लगाउँदै जनहित याचिका दायर गरेका थिए । अदालतले चलचित्र काल्पनिक कथा भए पनि सुरक्षासँग जोडिएका विषयलाई बेवास्ता गर्न नसकिने टिप्पणी गरेको छ ।
मुख्य न्यायाधीश देवेन्द्र कुमार उपाध्याय र न्यायाधीश तेजस कारियाको इजलासले सुनुवाइ गर्दै सूचना तथा प्रसारण मन्त्रालय र सीबीएफसीलाई याचिकामाथि आवश्यक निर्णय लिन निर्देशन दिएको हो । अदालतले मनोरञ्जनका लागि बनाइएको कथा भए पनि त्यसको प्रभाव गम्भीर हुन सक्ने उल्लेख गर्दै ‘अफिसियल सिक्रेट्स एक्ट’ अन्तर्गत समेत जाँच गर्नुपर्ने संकेत गरेको छ ।
यो रिट एसएसबीका हेड कन्स्टेबल दीपक कुमारले दायर गरेका हुन् । उनले चलचित्रमा सेनाका अपरेसनसम्बन्धी संवेदनशील विवरणहरू प्रस्तुत गरिएकाले देशको सुरक्षा र अखण्डतामा असर पर्न सक्ने दाबी गरेका छन् ।
रिटमा चलचित्रका केही स्थान र पात्रहरू वास्तविक सैन्य अधिकारी तथा सहिद सैनिकहरूसँग मेल खाने गरी चित्रण गरिएको उल्लेख गरिएको छ । यस्ता संवेदनशील विषय सार्वजनिक रूपमा प्रस्तुत गर्नु सुरक्षाका दृष्टिकोणले उचित नभएको दाबी गरिएको छ ।
उच्च अदालतले याचिकालाई पूर्ण रूपमा खारेज नगरी गम्भीरतापूर्वक विचार गर्नुपर्ने ठहर गर्दै सूचना तथा प्रसारण मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन भनेको छ । अब सरकार र सेन्सर बोर्डले यस विषयमा अन्तिम निर्णय लिनेछन् ।
विवादका बीच पनि ‘धुरन्धर २’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । स्याकनिल्कका अनुसार चलचित्रले भारतमा हालसम्म करिब ११४५ करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ भने विश्वभर करिब १७९७ करोड रुपैयाँ ग्रस कमाइ गरेको छ ।
चलचित्रमा रणवीर सिंहसँगै सञ्जय दत्त, आर माधवन, अर्जुन रामपाल, सारा अर्जुन, गौरव गेरा र राकेश बेदीको अभिनय रहेको छ । चलचित्रको निर्देशन आदित्य धरले गरेका हुन् । ‘धुरन्धर’ र ‘धुरन्धर २’ दुवै चलचित्र जियो स्टुडियोज र बी६२ स्टुडियोजको ब्यानरमा निर्माण गरिएको हो ।



कागजपत्र |
