
सडक सुरक्षा राज्यको प्राथमिकतामा नपरेको सांसद कार्कीकाे आरोप
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सडक दुर्घटनालाई राष्ट्रिय संकटको रूपमा चित्रण गर्दै राष्ट्रिय ट्रमा नीति आवश्यक रहेको बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्तै गम्भीर भए पनि राज्यको प्राथमिकतामा नपरेको टिप्पणी गरिन् ।
उनका अनुसार नेपालमा दैनिक औसत आठ जनाको सडक दुर्घटनामा ज्यान जाने गरेको छ । ‘बिहान घरबाट निस्किएका धेरै नेपाली बेलुका घर फर्किन सक्दैनन्। कसैको बुबा फर्किंदैनन्, कसैको छोरा–छोरी र कसैकी आमाको काख रित्तो हुन्छ,’ उनले भनिन् ।
सांसद कार्कीले प्रहरी मुख्यालयको तथ्यांक उद्धृत गर्दै वर्षेनी करिब तीन हजार नेपालीले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेको बताइन् । पछिल्लो १० वर्षमा मात्रै २४ हजार ९५ जनाको मृत्यु भएको उल्लेख गर्दै उनले वास्तविक संख्या अझ बढी हुन सक्ने दाबी गरिन् ।
‘सुदूर जिल्लाका धेरै दुर्घटनाहरू अभिलेखमै नपर्ने भएकाले वास्तविक तथ्यांक अझ भयावह हुन सक्छ,’ उनले भनिन् ।
उनले सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये करिब ७० प्रतिशत १५ देखि ४९ वर्ष उमेर समूहका युवाहरू रहेको उल्लेख गरिन् । यी युवाहरू देशको उत्पादनशील शक्ति र परिवारको मुख्य आधार भएको भन्दै उनले उनीहरूको मृत्युले परिवारलाई गरिबीको चक्रमा धकेल्ने बताइन् ।
सांसद कार्कीले सडक सुरक्षा, प्रभावकारी उपचार प्रणाली तथा राष्ट्रिय ट्रमा नीति निर्माणमा सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याइन् ।



कागजपत्र |
