विवाहित पुरुषलाई अविवाहित सिफारिस गर्ने वडाध्यक्ष पक्राउ


सिन्धुपाल्चोक-  लिखत कीर्तेसम्बन्धी कसुरमा बाह्रबिसे नगरपालिका–२ का वडाध्यक्ष रेशम तामाङ पक्राउ परेका छन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी काजीकुमार आचार्यका अनुसार तामाङलाई बाह्रबिसे क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनलाई कीर्ते लिखत कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा वडाध्यक्ष तामाङले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई एक विवाहित पुरुषलाई ‘अविवाहित’ भएको सिफारिस दिएको खुलेको छ ।

ती पुरुषकी श्रीमतीले सम्बन्धित व्यक्ति विवाहित रहेको उल्लेख गर्दै सिफारिस नदिन वडा कार्यालयमा लिखित निवेदन दिएकी थिइन् । तर, उक्त निवेदनलाई बेवास्ता गर्दै वडा कार्यालयबाट अविवाहित सिफारिस जारी गरिएको प्रहरीको भनाइ छ ।

पीडित पक्षको उजुरीपछि उनलाई पक्राउ गरिएको हो । प्रहरीले सिफारिससम्बन्धी कागजात तथा निवेदनलगायतका प्रमाणसमेत वडाबाट बरामद गरी अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया