हुम्ला–बाजुरा सीमा विवादले तनाव, धुलाचौरमा यातायात ठप्प


हुम्ला-  कर्णाली करिडोर अन्तर्गत बाजुराको हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा हुम्ला जाने यातायात सेवा बन्द गरिएको छ । लाम्पाटा–च्याचौर सीमा विवादका क्रममा भएको झडपपछि स्थानीयले यातायात अवरुद्ध गरेका हुन् ।

बाजुरा र हुम्लाको सिमाना लाम्पाटा–च्याचौर क्षेत्रमा भएको झडपमा चार जना स्थानीय घाइते भएको विरोधमा धुलाचौरका स्थानीयले बिहीबार बिहानैदेखि सडक अवरुद्ध गरेका हुन् ।

स्थानीयका अनुसार हुम्लाको सर्केगाड गाउँपालिका जाने यात्रु तथा सवारी साधनलाई रोकिएको छ । बिहानैदेखि सुर्खेत–नेपालगञ्ज र सुर्खेत हुँदै धुलाचौर आइपुगेका तथा जाने करिब दुई सय यात्रु र ४० भन्दा बढी सवारी साधन बाटोमै रोकिएका छन् ।

यात्रुहरूले आफूहरू अलपत्र परेको र खानबस्नसमेत समस्या भएको गुनासो गरेका छन् । विशेषगरी बिरामी, महिला, बालबालिका तथा अत्यावश्यक कामका लागि यात्रा गरिरहेका यात्रु बढी प्रभावित भएका छन् ।

स्थानीयहरूले सडकमा ठूला ढुंगा राख्ने र टायर बाल्ने कामसमेत गरेका छन् । धुलाचौर क्षेत्रमा हुम्लाका धेरै व्यवसायी रहेकाले उनीहरूको व्यवसायसमेत प्रभावित भएको बताइएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाले धुलाचौर क्षेत्रमा स्थानीयले यातायात सेवा अवरुद्ध गरेको पुष्टि गरेका छन् । उनका अनुसार बुधबार राति नै सडक खुलाउने प्रयास भए पनि बिहीबार बिहानबाट पुनः अवरुद्ध भएको हो ।

उनले समस्या समाधानका लागि दिउँसो २ बजे सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाइएको र सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया