
रानीसैन सीमा विवाद तत्काल टुंग्याउन सांसद खनालको माग
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा पर्ने रानीसैन क्षेत्रको विवाद तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालसहितको टोलीमाथि भएको दुव्र्यवहारप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद खनालले रानीसैन क्षेत्र साइपाल हिमालको पूर्वी बेस क्याम्प रहेको उल्लेख गर्दै त्यहाँ जडीबुटी र वन्यजन्तुको ठूलो सम्भावना रहेको बताए । उनले उक्त क्षेत्रमा वर्षौंदेखि जडीबुटी तथा वन्यजन्तुको अवैध चोरी–तस्करी हुँदै आएको सूचना प्राप्त भएको दाबी गरे ।
उनका अनुसार त्यहाँ प्रहरी चौकी स्थापना गर्ने तथा पर्यटन प्रवर्द्धन गर्ने प्रयास भइरहेका बेला अवैध गतिविधिमा संलग्न समूहले विरोध गर्दै वडा सदस्यसहित केही व्यक्तिलाई कुटपिट र बन्धक बनाएको खबर आएको छ ।
निर्वाचित जनप्रतिनिधिहरू स्थानीय विकास र पर्यटन प्रवर्द्धनका लागि खटिँदा पनि असुरक्षित हुनुपरेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
सांसद खनालले गृह मन्त्रालय, भूमिसुधार मन्त्रालय, प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई रानीसैन क्षेत्रको सीमा विवाद तत्काल समाधान गर्न आग्रह गरे । साथै, प्रत्येक नागरिकको सुरक्षा र स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारको ध्यान जानुपर्ने बताए ।



कागजपत्र |
