टोखामा अतिक्रमणविरुद्ध डोजर अभियान, धापवासी क्षेत्रमा घर–टहरा हटाइयो


काठमाडौं-  टोखा नगरपालिका–७ को धापवासी–ग्रीनल्याण्ड आसपास क्षेत्रमा निर्माण गरिएका अतिक्रमित घर–टहरा हटाइएको छ । नगरपालिकाले पूर्वसूचना अटेर गर्ने संरचनामाथि डोजर प्रयोग गर्दै हटाउने अभियान अघि बढाएको हो ।

नगरपालिकाले यसअघि १५ दिने सूचना जारी गर्दै सडक छेउ तथा सरकारी जग्गामा निर्माण गरिएका अवैध संरचना स्वयम् हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको थियो । तर, सूचनाको पालना नगरेपछि नगरपालिकाले डोजर प्रयोग गरेर संरचना हटाउने कार्य सुरु गरेको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईका अनुसार आज बिहानदेखि धापवासी क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर–टहरा, कम्पाउन्ड वाल र अस्थायी टहरा हटाउने काम थालिएको हो ।

उनले सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत यो कदम चालिएको स्पष्ट पारे । साथै, नगरपालिकाले कानुनी व्यवस्था विपरीत सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण नगर्न सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया