सर्वोच्चले दुर्गा प्रसाईं पक्राउबारे कारणसहित जवाफ माग्यो


काठमाडौं-  सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाइ गर्दै म्याद प्राप्त भएको मितिले २४ घण्टाभित्र महान्यायाधीवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

प्रसाईंलाई प्रहरीले पक्राउ गरेपछि उनका कानुन व्यवसायी अधिवक्ता आशिष लुइँटेलले गैरकानुनी थुनामा राखिएको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

साथै अदालतले दुवै पक्षलाई बहसमा उपस्थित हुन निर्देशन दिँदै अनुसन्धानसम्बन्धी फाइल सरकारी वकीलमार्फत पेश गर्नसमेत आदेश दिएको छ ।

प्रतिक्रिया