कांग्रेस इतर समूहले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय


काठमाडौं-  नेपाली कांग्रेसको इतर समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट नेताहरूको सक्रियतामा स्थापना गरिएको उक्त कार्यालय १५औं महाधिवेशनको तयारी र पार्टी एकताको अभियानका लागि खोलिएको बताइएको छ ।

सम्पर्क कार्यालय स्थापना गर्न नेता गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले र केदार कार्की लगायत सक्रिय रहेका छन् । बराल, बस्नेत र काफ्ले कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन् भने शेरचन बागलुङ कांग्रेस सभापति तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री हुन् । कार्की कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री हुन् ।

समूहका नेता मनहरि श्रेष्ठले कार्यालय नयाँ पार्टी गठनका लागि नभई पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले स्थापना गरिएको स्पष्ट पारे ।

उनले भने, “यो नयाँ पार्टी बनाउनका लागि सम्पर्क कार्यालय खोलेका होइनौं । १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ । त्यसकै तयारीका लागि कार्यालय स्थापना गरिएको हो ।”

श्रेष्ठका अनुसार वैशाख महिनादेखि नै कार्यालय सञ्चालनमा ल्याएर विभिन्न कामकारबाही अघि बढाइएको छ ।

नेता गुरु बरालले पनि पार्टी एकताका लागि दबाब सिर्जना गर्न तथा महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन कार्यालय स्थापना गरिएको बताए ।

कार्यालयमा चारतारे झण्डासँगै बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र खुमबहादुर खड्काका तस्वीर राखिएका छन् ।

प्रतिक्रिया