
ढुक्क भएर काममा फर्कन निर्माण व्यवसायीलाई सरकारको आग्रह
काठमाडौं- शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहोराले निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिबाट उत्पन्न समस्या समाधान गर्न सरकार खरिद ऐन तथा नियमावलीअन्तर्गत आवश्यक प्रक्रिया अघि बढाइरहेको बताएका छन्।
काम रोकेर ज्ञापनपत्र बुझाउन पुगेका निर्माण व्यवसायीहरूलाई सम्बोधन गर्दै उनले समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको भन्दै ढुक्क भएर काममा फर्कन आग्रह गरे।
बोहोराका अनुसार मन्त्रालयले विकास निर्माणसँग सम्बन्धित विभागका महानिर्देशकहरूलाई समस्या समाधानका लागि प्रतिवेदन तयार गर्न निर्देशन दिएको थियो। विभिन्न मोडेलमा समाधानका सुझावसहित तयार पारिएको प्रतिवेदन मन्त्रालयमा बुझाइसकिएको उनले जानकारी दिए।
उनले उक्त प्रतिवेदन मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म पुगेर छलफल भइसकेको र कानुन मन्त्रालयमार्फत आवश्यक प्रस्ताव अघि बढ्ने चरणमा रहेको बताए। विगतमा कोभिड महामारी र सुरुङमार्ग निर्माणका क्रममा जस्तै ‘बाधा अड्काउ फुकाउ’ प्रक्रिया अपनाउन सकिने अभ्यास रहेकाले अहिले पनि त्यही ढाँचामा समाधान सम्भव हुने उनको भनाइ छ।
बोहोराले सरकार समस्या समाधानका लागि आवश्यक गृहकार्य अघि बढाइसकेको र छिट्टै ठोस निर्णय आउनेमा आफूहरू आशावादी रहेको बताए।
उनका अनुसार बिटुमिन प्रयोग हुने सडक आयोजनामा केही प्रभाव परे पनि डन्डी र सिमेन्टको मूल्य अत्यधिक नबढेकाले समग्र निर्माण कार्य पूर्ण रूपमा ठप्प भने भएको छैन।
मूल्य समायोजनको समस्या समाधान भएपछि म्याद थप लगायतका विषयमा पनि सहजता आउने र निर्माण कार्यले गति लिने सरकारको अपेक्षा रहेको उनले बताए।
यसैबीच, निर्माण व्यवसायीहरूले भने हालको मूल्यवृद्धिका कारण काम गर्दा घरखेत जाने अवस्था आएको भन्दै तत्काल समस्या समाधान नभएसम्म काममा फर्कन नसकिने बताएका छन्।



कागजपत्र |
