धनकुटामा टाटा विंगर दुर्घटना, एक महिलाको मृत्यु


धनकुटा-  चौबिसे गाउँपालिका–४ विजिटारस्थित निर्माणाधीन तमोर करिडोर सडक खण्डमा टाटा विंगर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सोमबार बिहान भएको दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका–६ की ४० वर्षीया सवित्रा ढुंगेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए। सवारीसाधनभित्र च्यापिएकी उनको घटनास्थलमै उद्धार गर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

सुनसरीको इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३९४९ नम्बरको टाटा विंगर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का २८ वर्षीय तेजकुमार चेम्जोङ र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का २२ वर्षीय दिपेन रसाइली घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते दुवै जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

सवारीसाधनमा करिब २ हजार ५ सय चल्ला समेत रहेको र दुर्घटनामा केही चल्ला मरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया