बाग्लुङमा भ्याकुर खाँदा १ जनाकाे मृत्यु, ८ जना घाइते


बागलुङ – निगुरो टिप्न जंगल गएकाहरुले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ। जंगली भ्याकुर सेवन गर्दा आठ जना बिरामी परेका छन्।

घर नजिकैको जंगलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका–५ दाग घर भई खार बस्ने ७२ वर्षिय फिरमकुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए।

प्रहरी निरीक्षक मानन्धरका अनुसार, दीर्घरोगी घिमिरेको घरमै ज्यान गएको हो भने अन्य आठ जना भ्याकुरको सेवनपछि बिरामी परेका छन्। बिरामी हुनेहरु बडिगाड गाउँपालिका –५ खारका ५५ वर्षिय दुरपती कामी, ५५ वर्षिय विष्णु घिमिरे, २३ वर्षिया शारदा न्यौपाने, ४३ वर्षिय सुरेन्द्र विक, ६३ वर्षिय भोजराज घिमिरे, ६२ वर्षिया पुतली घिमिरे, ६५ वर्षिय खिमानन्द घिमिरे र १४ वर्षिय अबिसन घिमिरे छन्। बिरामीमध्ये दुरपती कामीको अवस्था गम्भीर रहेको छ।

बिरामी सबैको अहिले बुर्तिबाङ जिल्ला अस्पतालमा उपचार चलिरहेको र एक जनाको अवस्था जटिल रहेको अस्पतालका सूचना अधिकारी पार्वती अर्यालले जानकारी दिइन्। अर्यालका अनुसार बिरामीहरु चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र वान्ता हुने लक्षणहरु देखिएको छ।

नियमितजस्तै उनीहरु आइतबार पनि जंगलमा निगुरो टिप्न गएको र खाजामा दिउँसो जंगलबाट ल्याएको भ्याकुर खाएपछि बिरामी परेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया