
कंगोमा इबोला प्रकोप: डब्ल्यूएचओद्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा
काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई “अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल” घोषणा गरेको छ । बीबीसीका अनुसार हालसम्म करिब २४६ जना संदिग्ध संक्रमित र ८० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।
यद्यपि डब्ल्यूएचओले यो प्रकोपले महामारी स्तरको आपतकालीन मापदण्ड भने पूरा नगरेको स्पष्ट पारेको छ । संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले संक्रमितको वास्तविक संख्या र रोगको भौगोलिक फैलावटबारे अझै ठूलो अनिश्चितता रहेको चेतावनी दिएका छन् ।
डब्ल्यूएचओका अनुसार हाल फैलिरहेको इबोला ‘बुन्डिबुग्यो भाइरस’ प्रजातिबाट भएको हो, जसका लागि अहिलेसम्म कुनै स्वीकृत औषधि वा खोप उपलब्ध छैन ।
हालसम्म आठ वटा प्रयोगशाला–प्रमाणित केस पुष्टि भएका छन् भने इटुरी प्रान्तको राजधानी बुनिया र मोंगवालु तथा र्वाम्पारा जस्ता खानी क्षेत्रहरूमा थप संदिग्ध संक्रमण र मृत्युका घटना देखिएका छन् ।
यो संक्रमण कंगोभन्दा बाहिर पनि फैलिएको पुष्टि भएको छ । छिमेकी युगान्डामा दुई जना संक्रमित भेटिएको डब्ल्यूएचओले जनाएको छ । हालै ५९ वर्षीय एक पुरुषमा मृत्यु पश्चात परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
सीमा क्षेत्रमा रोग फैलिने उच्च जोखिम रहेको भन्दै डब्ल्यूएचओले कंगो र युगान्डालाई कडा निगरानी, कन्ट्याक्ट ट्रेसिङ र आपतकालीन सञ्चालन केन्द्र स्थापना गर्न सुझाव दिएको छ ।
संगठनले संक्रमितलाई छिटो आइसोलेसनमा राख्नुपर्ने र दुई पटक गरिएको भाइरस–विशिष्ट परीक्षण नेगेटिभ नभएसम्म उपचार जारी राख्नुपर्ने बताएको छ ।
यद्यपि डब्ल्यूएचओले प्रभावित क्षेत्रबाहिरका देशहरूलाई यात्रा वा व्यापारमा प्रतिबन्ध नलगाउन आग्रह गरेको छ । डरका आधारमा गरिने प्रतिबन्ध वैज्ञानिक रूपमा उचित नहुने चेतावनी पनि दिएको छ ।
इबोला पहिलोपटक सन् १९७६ मा कंगोमा पहिचान भएको थियो र यो चमेराबाट मानिसमा सर्ने भाइरस मानिन्छ । शरीरका तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट फैलिने यो रोगले गम्भीर रक्तस्राव र अंग विफलता निम्त्याउन सक्छ ।
यसका प्रारम्भिक लक्षणमा ज्वरो, मांसपेशी दुखाइ, टाउको तथा घाँटी दुख्ने समस्या देखिन्छ भने पछि बान्ता, पखाला, छाला डाबर र रक्तस्राव देखा पर्न सक्छ । डब्ल्यूएचओका अनुसार यसको औसत मृत्युदर करिब ५० प्रतिशत रहेको छ ।
विगत ५० वर्षमा अफ्रिकामा इबोला संक्रमणबाट करिब १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कंगोमा सबैभन्दा ठूलो प्रकोप सन् २०१८ देखि २०२० सम्म भएको थियो, जसमा करिब २,३०० जनाको ज्यान गएको थियो । गत वर्ष पनि अर्को प्रकोपमा ४५ जनाको मृत्यु भएको थियो ।



कागजपत्र |
