नेपालबाट थप २३ सय केयरगिभर इजरायल लगिँदै


काठमाडौं – इजरायलको दीर्घकालीन स्याहार केन्द्र (वेतावोथ) मा सहायक श्रमिक (केयरगिभर) का रूपमा थप २३ सय नेपाली लैजाने भएको छ।

इजरायलले नेपालका लागि छुट्याएको कोटाअनुसार नयाँ श्रमिक भर्नाको सूचना सार्वजनिक गर्ने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।

इजरायलको जेरुसेलमस्थित जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले गत फेब्रुअरीमा नै नयाँ कोटा पठाएको थियो। तर प्रतिनिधिसभाको चुनाव र पश्चिम एसियामा देखिएको तनावका कारण नयाँ श्रमिक छनोट प्रक्रिया अगाडि बढाइएको थिएन।

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार पिवाले मागपत्र पठाएको ४० दिनभित्र नयाँ श्रमिक छनोटका लागि सार्वजनिक सूचना जारी गरिसक्नुपर्छ।

वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्यले श्रम सम्झौताअनुसार नयाँ सूचना जारी गर्न लागिएको बताइन्।

इजरायलले दोस्रो चरणअन्तर्गत २९ अगस्ट २०२४ मा योग्यता पुगेका ३ हजार २ सय ६६ जनाबाट ुलक्की ड्रु गरी २१ सय १२ जनालाई छनोट गरेको थियो।

छानिएकामध्ये १९ सय जना इजरायल पुगिसकेका छन्। छनोटमा नपरेकालाई पुनः लक्की ड्रमा सहभागी हुन पाउने पिवाले जनाएको छ। तर, उनीहरू तोकिएको अङ्ग्रेजी भाषा परीक्षामा उत्तीर्ण हुनुपर्नेछ।

नेपालका लागि इजरायली राजदूत श्यामुलिक अरे वासले सम्झौताअनुसार केयरगिभरका लागि योग्य ठहरिएकालाई अवसर दिइने बताए।

सम्झौताअनुसार केयरगिभरका लागि योग्य ठहरिएका तर लक्की ड्रामा नपरेका ११ सय ५४ जनालाई पनि प्रतिस्पर्धा गर्ने अर्को अवसर दिइनेछ।

नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार सरकारी संयन्त्र (जीटूजी) मार्फत नै फेरि थप नेपाली केयरगिभर पठाउने प्रक्रिया अगाडि बढाइएको हो। इजरायलले अगस्ट २०२२ देखि दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा केयरगिभर लैजान थालेको हो।

पहिलो चरणमा छानिएको केयरगिभर गइसकेपछि ११ असार २०८१ बाट दोस्रो चरणको प्रक्रिया अगाडि बढाइएको थियो।

इजरायलमा केयरगिभरको मासिक तलब ५८ सय ८४ इजरायली मुद्रा (करिब तीन लाख रुपैयाँ) छ । यसमा खाना र आवासको खर्च भने आफैँले बेहोर्नुपर्छ।

श्रमिकका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमि (एएनएम) वा सीएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सोसरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभिङसम्बन्धी तीन महिनाको तालिम लिएको हुनुपर्ने प्रावधान छ।

इजरायल जान छानिएका नेपाली कामदारले त्यहाँको दीर्घकालीन स्याहार केन्द्रमा ६५ वर्ष ननाघेका गम्भीर अपाङ्गता भएका व्यक्तिको स्याहारमा काम गर्नुपर्ने विभागले जनाएको छ।

 

प्रतिक्रिया