
कर्मचारीलाई त्रास देखाउनेमाथि कानुनी कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा सचिवालयको नाम दुरुपयोग गरी कर्मचारीलाई धम्क्याउने, बार्गेनिङ गर्ने वा गैरकानुनी दबाब सिर्जना गर्ने जो–कोहीलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो कार्य निन्दनीय र अक्षम्य भएको बताएका हुन् ।
विज्ञप्तिअनुसार दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले प्रधानमन्त्री कार्यालयको नाम लिएर फोनमार्फत धम्की दिएको अडियो सार्वजनिक भएपछि सरकारको ध्यानाकर्षण भएको हो ।
प्रधानमन्त्री कार्यालयले कानुन र प्रशासनिक प्रक्रियाअनुसार काम गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई त्रास सिर्जना गर्ने, अमर्यादित व्यवहार गर्ने तथा दबाब दिने गतिविधि सह्य नहुने स्पष्ट पारेको छ ।
उक्त घटना सार्वजनिक भएसँगै खड्कालाई कानुनी दायरामा ल्याएर आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाउन सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिइसकेको कार्यालयले जनाएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्री सुशासन, विधिको शासन तथा कर्मचारीको व्यावसायिक सुरक्षाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै विधिको शासनलाई चुनौती दिने कुनै पनि व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
त्यस्तै, प्रधानमन्त्री, सचिवालय वा प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरी कसैले फोन वा भेटमार्फत धम्की, बार्गेनिङ वा नाजायज दबाब दिएमा भ्रममा नपर्न र तत्काल सुरक्षा निकाय वा प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउन सर्वसाधारण तथा कर्मचारीलाई आग्रह गरिएको छ ।
साथै, भविष्यमा यस्ता दुरुपयोग रोक्न प्रधानमन्त्री कार्यालय वा सचिवालयको नाम जोडेर आउने शंकास्पद फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्र काम अघि बढाउन सबै सरकारी निकाय र कर्मचारीलाई विशेष अनुरोध गरिएको छ ।



कागजपत्र |
