वैदेशिक रोजगारीका नाममा लाखौं ठगी, काठमाडौंमा तीन जना पक्राउ


काठमाडौं-  वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका–३ बस्ने झापा दमक नगरपालिका–२ का ३७ वर्षीय सागर गौतम, टोखा नगरपालिका–१ बस्ने दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम तथा काठमाडौँ महानगरपालिका–२९ बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ का ३७ वर्षीय सनम गुरुङ रहेका छन्।

प्रहरीका अनुसार पक्राउमध्ये सागरले युएई पठाइदिन्छु भन्दै एक जना पीडितबाट ४ लाख ५८ हजार रुपैयाँ, शम्भुले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै एक जना पीडितबाट १५ लाख ९० हजार रुपैयाँ र सनमले क्यानडा पठाइदिन्छु भन्दै दुई जना पीडितबाट २४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सागरलाई टोखा नगरपालिका–३ बाट सोमबार, शम्भुलाई टोखा नगरपालिका–२ बाट र सनमलाई काठमाडौँ महानगरपालिका–१२ बाट मंगलबार पक्राउ गरेको हो।

पक्राउ परेकामाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया