जनता सरकारसँग डराइरहेका छन् : हर्कराज राई


काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएको र सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै सरकार अक्षम र गैरजिम्मेवार भएको आरोप लगाए।

“यो सरकारको प्रधानमन्त्री छ कि छैन ? यदि छन् भने संसद्लाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ?” उनले प्रश्न गर्दै भने, “सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिनु अयोग्यता र असक्षमताको नमुना हो।”

राईले सरकारले नागरिकलाई सुरक्षा दिन नसकेको र सीमा क्षेत्रको संरक्षणमा समेत असफल भएको आरोप लगाए। भारतले सीमाक्षेत्रमा पर्खाल निर्माण गरिरहेको विषयमा सरकार मौन बसेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

“जनता सरकारसँगै डराइरहेका छन्,” उनले भने, “जनताको सुरक्षा दिन नसक्ने र सीमाक्षेत्र जोगाउन नसक्ने सरकार कसरी प्रभावकारी हुन्छ ?”

उनले मन्दिर, गुम्बा, गिरिजाघर तथा विद्यालय भत्काउने कार्यप्रति पनि आपत्ति जनाए। “बोल्न नसक्ने धार्मिक स्थल र विद्यालय किन भत्काइँदैछ ? जताततै डोजर चलाउँदा जनता त्रसित भएका छन्,” उनले बताए।

राईले निजी क्षेत्र पनि सरकारको नीतिका कारण आतंकित भएको दाबी गरे। देशको अर्थतन्त्र कमजोर पार्ने दिशामा सरकार अघि बढिरहेको आरोप लगाउँदै उनले ‘डोजर अभियान’लाई लिएर प्रश्न उठाए।

उनले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै “डोजर आए छाती थाप्ने” अभिव्यक्ति स्मरण गराउँदै त्यसबारे जवाफदेहिता हुनुपर्ने बताए।

“विदेशी ऋण, डोजर आतंक र प्रहरीको लर्को लगाएर सरकारले कस्तो सन्देश दिन खोजेको हो ?” उनले प्रश्न गरे।

व्यंग्यात्मक शैलीमा उनले सरकार सबै घर भत्काएर देशलाई “बालुवाको थुप्रो” बनाउने दिशामा लागेको टिप्पणीसमेत गरे।

प्रतिक्रिया