
स्कटल्याण्डविरूद्ध नेपालले पहिले फिल्डिङ गर्दै
काठमाडौं – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्दै निर्णय गरेपछि नेपालले बलिङ गर्न लागेको हो । यो शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा गर्दैछन् ।
लिग २ को तालिकामा शीर्ष स्थानमा रहेका अमेरिका र स्कटल्यान्डको नजर उपाधितर्फ छ । घरेलु टोली नेपालका लागि भने यो शृंखला आफ्नो एकदिवसीय अस्तित्व जोगाउने लडाइँ बनेको छ। नेपालले यस शृंखलामा स्कटल्यान्ड र अमेरिकासँग २–२ खेल खेल्ने तालिका छ।
लिग २ को तालिकामा अमेरिका २४ खेलबाट ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने स्कटल्यान्ड २८ खेलबाट ३४ अंकसहित दोस्रो स्थानमा छ। नेपाल भने २४ खेलमा मात्र १८ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ। लिग २ का शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने भएकाले नेपालका लागि अबका हरेक खेल ‘गर या मर’ को स्थितिमा छन्।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी उत्कृष्ट लयमा छन्। उनले पछिल्लो शृंखलामा औसत ९० को रनरेटमा २ सय ६८ रन बनाएका थिए। तर, अन्य ब्याटरको साथ नहुनु नेपालको मुख्य चिन्ताको विषय हो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको अस्थिर प्रदर्शन तथा कप्तान रोहित पौडेलको ब्याटिङ खडेरीले टोलीलाई दबाबमा राखेको छ।
नेपाली टोलीमा अलराउन्डर बसिर अहमदको स्थानमा इशान पाण्डेलाई समेटिएको छ।



कागजपत्र |
