देउवाको गृहप्रदेशमा गगन थापा, स्वागतमा पुगे मुख्यमन्त्री शाह


काठमाडौं-  नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सहभागी हुन शनिबार धनगढी पुगेका छन्। विशेष महाधिवेशनपछि उनी पहिलोपटक निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेश पुगेका हुन्।

नेपाली कांग्रेसले प्रदेश तथा स्थानीय तह केन्द्रित कार्यक्रमअन्तर्गत आयोजना गरेको दुईदिने प्रदेशस्तरीय भेलामा सहभागी हुन थापा धनगढी पुगेका हुन्। भेलामा संगठन सुदृढीकरण, सरकारको कार्यसम्पादन तथा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने जनाइएको छ।

भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार नै धनगढी पुगिसकेका छन् भने महामन्त्री गुरुराज घिमिरे बिहीबारदेखि नै त्यहाँ सक्रिय छन्।

सभापति थापालाई स्वागत गर्न सुदूरपश्चिमका कांग्रेस नेतासहित मुख्यमन्त्री कमलबहादुर शाह पनि धनगढी विमानस्थल पुगेका थिए। यसअघि “आफ्नो सभापति देउवा नै हुन्” भन्ने अभिव्यक्ति दिएका शाह आज भने थापाको स्वागतमा उपस्थित भएपछि त्यसलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

मुख्यमन्त्री शाहसँगै सामाजिक विकासमन्त्री मेघराज खड्का, आर्थिक मामिलामन्त्री बहादुर थापा, वनमन्त्री शिवराज भट्ट तथा अर्थ राज्यमन्त्री प्रकाश बम पनि विमानस्थल पुगेका थिए। तर उनीहरूलाई विमानस्थलभित्र प्रवेश गर्न नदिइएको बताइएको छ।

यता कांग्रेसभित्र सुदूरपश्चिममा नेतृत्व परिवर्तनको चर्चा तीव्र बन्दै गएको छ। पार्टीको केन्द्रीय नेतृत्वले मुख्यमन्त्री परिवर्तनबारे गृहकार्य गरिरहेको चर्चा चलिरहेका बेला शाह स्वयं थापाको स्वागतमा पुग्नुले थप राजनीतिक संकेत दिएको विश्लेषण भइरहेको छ।

कतिपय नेताहरूले मुख्यमन्त्री शाहले नेतृत्वसँग सम्बन्ध सुधार गर्दै पद जोगाउने प्रयास गरिरहेको टिप्पणी गरेका छन्। यद्यपि सभापति थापाले आज नेताहरूसँग मुख्यमन्त्रीको विषयमा समेत छलफल गर्ने तयारी रहेको बुझिएको छ।

कांग्रेसभित्रै मुख्यमन्त्री शाहविरुद्ध असन्तुष्टि बढ्दै गएको र केही प्रदेशसभा सदस्य नेतृत्व परिवर्तनको पक्षमा सक्रिय रहेको स्रोतहरूको दाबी छ। प्रदेशसभा सदस्य दिवानसिंह बिष्टले समेत शाहले हटाइनुभन्दा अघि स्वयं राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन्।

सत्ता साझेदार नेकपा एमाले पनि सुदूरपश्चिम सरकारको वर्तमान नेतृत्वप्रति पूर्ण रूपमा सन्तुष्ट नरहेको बताइन्छ। प्रदेश सरकारमा एमालेबाट एक राज्यमन्त्रीसहित तीन मन्त्री सहभागी छन्।

प्रतिक्रिया