अमेरिका–इरानबीच होर्मुज जलमार्ग खोल्ने सहमति भएको दाबी


काठमाडौं- अमेरिका र इरानबीच रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषयमा सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । विभिन्न रिपोर्टअनुसार, अमेरिकी नौसैनिक नाकाबन्दी क्रमशः खुकुलो पार्ने तथा त्यसको बदलामा इरानले होर्मुज जलमार्ग चरणबद्ध रूपमा खोल्ने समझदारी बनेको बताइएको छ ।

अरबी सञ्चारमाध्यमहरूले जनाएअनुसार, दुई देशबीच बिहीबार बढ्दो तनावका बीच उक्त सहमति भएको हो । अल अरबियाले स्रोतलाई उद्धृत गर्दै अमेरिका र इरानबीच जलमार्ग सञ्चालन तथा नाकाबन्दी व्यवस्थापनबारे सहमति जुटेको जनाएको छ ।

अमेरिका–इरान तनाव चर्किएसँगै इरानले होर्मुज जलमार्ग बन्द गरेको थियो । त्यसपछि विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुनुका साथै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र उतारचढाव देखिएको थियो ।

रिपोर्टमा उल्लेख गरिएअनुसार, “नाकाबन्दी खुकुलो बनाउने र होर्मुज जलमार्गलाई विस्तारै सञ्चालनमा ल्याउने विषयमा सहमति भएको छ । अब केही घण्टाभित्रै होर्मुज क्षेत्रमा रोकिएका जहाजहरूलाई बाहिरिन अनुमति दिइनेछ ।”

होर्मुज जलमार्ग विश्वकै सबैभन्दा संवेदनशील समुद्री व्यापारिक मार्गमध्ये एक मानिन्छ । विश्वभर खपत हुने तेलको ठूलो हिस्सा यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यसको अवरोधले विश्व अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने गर्छ ।

दुई देशबीच सहमति भएको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजार र समुद्री व्यापार क्षेत्रमा राहतको अपेक्षा गरिएको छ । तर, अमेरिका वा इरान दुवै देशले हालसम्म यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

यसअघि नाकाबन्दीको क्रममा अमेरिकी लडाकु विमानले इरानको एक तेल ट्यांकरमाथि आक्रमण गरेको रिपोर्ट सार्वजनिक भएको थियो । उक्त आक्रमणमा ट्यांकरको दिशा नियन्त्रण प्रणालीलाई निसाना बनाइएको बताइएको छ । त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमति नभए इरानमाथि थप कडा हमला गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया