बिपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक


काभ्रेपलाञ्चोक- जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गअन्तर्गत कटुन्जेबेसी–नेपालथोक सडकखण्डमा राति र बिहानको समयमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको छ।

कार्यालयले मंगलबार एक सूचना जारी गर्दै वैशाख २२ गतेदेखि अर्को सूचना जारी नभएसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन पूर्ण रूपमा बन्द रहने जनाएको हो।

रोशी खोलामा बाढी आएर सडक पटक–पटक अवरुद्ध हुने र यात्रुहरूको ज्यानसमेत जोखिममा पर्ने अवस्था सिर्जना भएपछि यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनेको सडकखण्ड हालसम्म पनि निर्माण तथा मर्मत कार्यमा रहेकाले सामान्य वर्षामा समेत अवरुद्ध हुने समस्या देखिएको सूचनामा उल्लेख छ।

प्रशासनका अनुसार रोशी खोलामा बाढीको जोखिम बढेसँगै सडकभित्र प्रवेश गरेका यात्रु तथा सवारी साधन उद्धार गर्न समेत कठिनाइ हुने अवस्था रहेको छ।

त्यस्तै, आवश्यक परे मौसम र बाढीको अवस्था अनुसार जुनसुकै बेला आपतकालीन रूपमा सडक पूर्ण बन्द गर्न सकिने चेतावनी पनि दिइएको छ।

प्रशासनले यात्रुहरूलाई यात्रा अघि अनिवार्य रूपमा सम्बन्धित प्रहरी कार्यालय तथा आपतकालीन केन्द्रसँग सम्पर्क गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया