समस्याग्रस्त सहकारीका बचत जेठदेखि फिर्ता हुने


काठमाडौं – समस्याग्रस्त सहकारीका बचतकर्ताले आफ्नो बचत रकम जेठको पहिलो सातादेखि फिर्ता पाउने भएका छन्।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै माग दाबी गरेका बचतकर्तालाई जेठको पहिलो साताबाटै रकम फिर्ता गर्न सुरु गरिने जनाएको हो।

समितिका अनुसार माग दाबी गर्न छुटेका बचतकर्तालाई पुनः अवसर दिइनेछ। उनीहरूका लागि आगामी साउनको पहिलो सातादेखि माग दाबी पेश गर्न समय खुला गरिनेछ।

कर्जा असुली प्रक्रियालाई कडाइका साथ अघि बढाइने समितिले जनाएको छ। किस्ताबन्दीमा कर्जा तिर्न लिखित प्रतिबद्धता जनाउने र केही रकम जम्मा गर्ने ऋणीलाई भने आवश्यक समय दिइनेछ।

तर, कर्जा नतिर्ने ऋणीविरुद्ध भने कडा कारबाही गरिने चेतावनी दिइएको छ। त्यस्ता ऋणीको तीन पुस्तेसम्मको विवरण सार्वजनिक गर्ने र परिवारका सदस्यलाई समेत कालोसूचीमा राख्ने तयारी गरिएको समितिले जनाएको छ।

हाल समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी रहेको समितिले स्पष्ट पारेको छ।

प्रतिक्रिया